योग र ध्यान गर्नेबित्तिकै अनुभव गर्न सकिन्छ यस्तो परिवर्तन

तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ ।

हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं ।

जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ ।

उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्मान्ड जतिकै प्राचीन हो । योगको उद्देश्य जीवनलाई साँचो रुपमा बुझ्नु हो । साथै, आफूलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु पनि हो ।

संस्कृतमा योग शब्दको अर्थ जोड्नु वा मिलाउनु हो । स्वय‌ंलाई जान्नु हो ।

योगको अनेकन फाइदा छन् । शारीरिक फाइदा छ, मानसिक फाइदा छ, आत्मिक फाइदा छ । अर्थात् समग्र र सम्पूर्ण रुपमा हाम्रो शरीर यसबाट लाभान्वित हुन्छ। योगसुरु गर्नसाथ हामीले केही परिवर्तन अनुभव गर्न सक्छौं । जस्तो आज तपाईं बिहान उठेर केही क्षण योग गर्नुभयो । तपाईंमा एक किसिमको ऊर्जा र उमङ्गको अनुभव हुन्छ । शरीर फुर्तिलो र चुस्त लाग्नेछ।

अहिले धेरैजसो मानसिक रोगले ग्रस्त छन् । मानसिक विकार बढेको छ । डिप्रेसन, चिन्ताजस्ता समस्याले धेरैलाई सताएको छ। उनीहरू यस्तै मानसिक विकार हटाउन योग गरिरहेका छन् । मनको शुद्धीकरणको माध्यमको रुपमा योगलाई अपनाएको छन् ।

योग गरेपछि मनका बेचैनी, तनाव पनि हराएको अनुभव हुनेछ । योगले हाम्रो तनाव, चिन्ताको स्तर घटाइदिन्छ। मनमा सकारात्मक भाव पैदा हुन्छ । एकदिन मात्र योग गर्दा पनि त्यसबाट कुनै न कुनै सकारात्मक परिवर्तनको अनुभव हामीले गर्न सक्छौं ।

एक पटक सही र समुचित ढंगले योग गरिसकेपछि यसलाई निरन्तर रुपमा अपनाउन मन लाग्छ। नियमित रुपले योग गरिरहँदा शरीर लचिलो, फुर्तिलो, तन्दुरुस्त अनुभव हुनेछ । मन चङ्गा हुनेछ । यससँगै योग र व्यायामले दीर्घकालीन रुपमै निरोगी र तन्दुरुस्त बनाइराख्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

त्यसो त योगले क्यान्सरजस्ता कतिपय घातक रोगको सम्भावित जोखिमबाट मुक्त राख्छ ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo