पोर्चुगलमा आठ हजार कोरोना प्रभावितलाई निःशुल्क पिज्जा खुवाइँदै

१५ असार, लिस्बन । विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले आठ हजार जनालाई पिज्जा निःशुल्क खुवाउने अभियान सुरु गरेका छन् ।

‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटाले एक महिनाभित्र पिज्जा खुवाउन थालेका हुन् । अभियान असार २ गतेदेखि सुरु भइसकेको छ । इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उनी धेरै पटक सम्मानित भइसकेका छन् ।

बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाएका ४५ वर्षीय सापकोटा विभिन्न सेवामूलक काम र सहयोग पुर्‍याएकाले पनि सुपरिचित छन् । कोरोनाको महामारीबाट समस्यामा परेका मानिसलाई आफ्नो निजी खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाइएको सापकोटाले बताए ।

पोर्चुगलको राजधानी लिस्बनका २४ वटा वडाका समस्याग्रस्त मानिसलाई पिज्जा खुवाउने लक्ष्य राखिएको छ । ‘लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टिम जुटेको छ’, सापकोटाले भने । घुम्ती शिविर हरेक वडामा सञ्चालन हुने र घरघरमा पिज्जा पुर्‍याइने छ । स्थलगत पिज्जा तयार पार्ने व्यवस्थापनमा नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागि परेका छन् ।

मूलतः एशियाली र अफ्रिकी तथा पोर्चुगिसलाई पिज्जा वितरण गर्ने लक्ष्य छ । सामान्यतः एउटा पिज्जा तयार गर्न नौ युरो अर्थात् झण्डै रु एक हजार एक सय लाग्ने अनुमान छ । अभियानलाई नै आवश्यक पर्ने पिज्जा बनाउनका लागि उहाँले ३० हजार युरो(झण्डै रु ४० लाख) पर्ने चुल्हो(फोर्नाे) उनले किनेका छन् । उनको अभियानमा ७० हजार युरो(रु ८५ लाखदेखि ९० लाख )खर्च हुने जनाइएको छ ।

अभियानमा लिस्बन नगरपालिकाका मेयरले महत्वाकाङ्क्षी योजनामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काउन्सिलर कार्लोस कास्तुले आफैँ पिज्जा बनाउने स्थलमा उपस्थित भई उनको कामको हौसला प्रदान गरेका छन् । एक नेपालीले यति ठूलो पुण्य काम गरेकामा लिस्बन नगरपालिका सधैँ साथमा रहेको उनले बताए ।

अभियान पोर्चुगलभरि नै सञ्चालन गर्ने उनको अठोट छ । ‘समाजसेवा भनेको मनदेखि नै आउनुपर्छ । अ स्वार्थरहित समाजसेवामा लागेको हुँ’, उनले भने । उक्त अभियानमा ५०० स्वयंसेवक परिचालन गरिएको छ । एघार कर्मचारी पारिश्रमिक लिएर उक्त अभियानमा खटिरहेका छन् ।

यसअघि सापकोटा विश्वको सबैभन्दा महँगो र दुर्लभ च्याउ (हाइट्ट्राफल) पोर्चुगलमा भित्र्याउने पहिलो नेपालीको पहिचान बनाउन सफल भएका थिए । हाल पोर्चुगलमा तीन इटालियन र एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । एक इटालेली रेस्टुरेन्टमा पिज्जा तयार पार्न सुनको चुल्हो तयार राखिएको छ ।

उनको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, कलाकार, फुटबल खेलाडी र राजनीतिज्ञको जमघट हुने गरेको छ । पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा र प्रधानमन्त्री एन्तानियो कोस्टा पनि धेरै पटक आफूले बनाएको पिज्जा खान रेस्टुरेन्ट आउने गरेको सापकोटाले आफ्नो अनुभव सुनाए ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo